काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति गालीको बर्षा गरेका छन्। आइतबार एमाले निकट बुद्धिजीवी परिषद्को १०औँ अधिवेशनमा सम्बोधन गर्दै उनले अध्यक्ष नेपाललाई 'माकुने' भन्दै सम्बोधन गरेका थिए। नेपाल नेतृत्वको पार्टीलाई पनि 'माकुने गुट' भनेका थिए।
आफ्नो सरकार ढाल्न र ओलीकै शब्दमा दक्षिणपन्थी सरकार गठन गर्नको लागि भूमिका खेलेकोको भन्दै ओलीले आफ्नो भाषणको धेरै समय नेपाललाई गाली गर्न खर्चिए। उनले नेपाल सहितका नेताहरु कम्युनिस्ट सरकार ढाल्नका लागि त बलिदान हुन तयार भएको बताए। नेपाल सहितका नेताहरुले अहिले पाँच दलीय गठबन्धन कायम रहनुपर्छ भन्ने गरेकोप्रति पनि ओलीको कटाक्ष थियो। पाँच दलीय गठबन्धनलाई भयानक अपराध भनेका उनले सो गठबन्धन बनाउन नेपाल सहितका नेताले गति छाडेको बताए।
'कत्रो अपराध गरेका, बेसरम। अनि प्रतिगमन रोक्न खोजेको रे! कम्युनिस्ट आन्दोलनको रक्षा गर्न खोजेको रे! झुट, बेइमानी र उल्टा कुराको हद योभन्दा केही हुन्छ? बेसरमीपनको हद योभन्दा बढी केही हुन्छ?' नेपालप्रति लक्षित गर्दै उनले भने।
नेपाल सहितका नेताहरुले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने कुचेष्टा गरेको ओलीको आरोप थियो। 'यिनका लागे-पुगेसम्म त अहिले नेपालका कम्युनिस्ट आन्दोलन ध्वस्त भइसक्थ्यो। यिनीहरुले अहिले दुना थापेर हिँड्दैछन् नि कांग्रेसका पछिपछि। त्यति रहन्थ्यो। अहिले माकुनेको छ नि गुट। दुना थापेर हिँड्छ नि', उनले भने।
आफ्नो नेतृत्वको सरकारलाई नेता नेपालकै सरकार भनेका उनले त्यसमा प्रधानमन्त्रीसहित २५ वटै मन्त्री पनि उनीहरुकै रहेको बताए। 'सबै सरकार आफ्नो थियो। त्यो ठाउँमा मलाई चारवटा मन्त्री त नभइ हुँदैन भन्दैछन्। कहाँ शेर थिए, कहाँ लल्लु भए। अहिले चार वटा मन्त्री नभइ हुँदैन भन्दैछन्', ओलीको आक्रोश थियो।
ओलीले नेपाल लगायतका नेताले आफू प्रधानमन्त्री छँदा बसिखान नदिएको बताए। 'त्यो शान सौकत छोडेर अहिले भिखमंगा जस्ता दुनो लिएर हिँडेका छन्, भिख माग्दै', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।