काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई भ्युटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्न आग्रह गरेका छन्। भ्युटावर बनाउने पैसा अस्पताल तथा स्कुल बनाउन खर्च गर्नुपर्ने उनको भनाइ छ।
'म नेपाली कांग्रेसका साथीहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। तपाईंहरुले वडा र गाउँपालिकाको घोषणापत्र त बनाउनुहुन्छ। हामी भ्युटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुस्। भ्युटावर बनाउँदा जति खर्च लाग्छ, त्यो खर्च अस्पताल, स्कुलमा खर्च गर्नुभयो भने त्यो नै हाम्रो लागि अत्यन्त राम्रो हुन्छ भन्ने लाग्छ', आइतबार तनहुँको बन्दिपुरमा 'सिमलटार खानेपानी आयोजना'को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।
कोइरालाले विकासका नाममा फजुल खर्च भइरहेको बताए। 'खानेपानी, सडक, बिजुली, अस्पताल, स्कुल बनाउन पैसा छैन भन्छौँ। तर, हामी भ्युटावरमा फजुल पैसा खर्च गर्छौँ। मधेसमा गेट बनाइरहेका छन्। सडकसडकमा गेट देखिन्छ', उनले भने।
कोइरालाले सिमलटारबासीलाई शिक्षा, स्वास्थ्य र सडकको इच्छा गर्न र त्यो आफूले पुर्याउने प्रतिज्ञा पनि गरे। 'मेरो हजुरबुबा कृष्णप्रसाद कोइरालाको थोत्रो बक्सा थियो। त्यो खोल्दा पैसा हुँदैनथ्यो, केही हुँदैनथ्यो। त्यसमा एउटा कुरा लेखेको थियो- तिमी इच्छा गर, म पूरा पुर्याउँछु', उनले भने, 'तपाईंहरु इच्छा गर्नुस्, शिक्षाको निम्ति, स्वास्थ्यका निम्ति, सडकका निम्ति इच्छा गर्नुस्। म पुर्याउँछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।