काठमाडौं– फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा शीर्षस्थानमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ। रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो।
एवान्का वालाइडोस भिगो स्पेनमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोलीका नोलिटोले एक गोल फर्काए। खेलको १९औं मिनेटमा बेन्जेमाको पेनाल्टीबाट रियलले सुरुवाती अग्रता लिएको थियो।
खेलको ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके। रोड्रिगोमाथि मुरिल्लोले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा बेन्जेमाको पेनाल्टीलाई डिटुरोले बचाए।
खेलको ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे। पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फउल गरेपछि रेफ्रीले रियललाइै एकै खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक बेन्जेमा चुकेनन्।
यो जितसँगै शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ। रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई १२ अंकले पछि पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।