काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टीको मुख्यालयमा गएर गरेको भेटप्रति प्रश्न उठाएका छन्। बीजेपी कार्यालयमा गएका प्रधानमन्त्री देउवाको नेपालमा आलोचना भइरहेको छ। सोही लहरमा लोहनी पनि थपिएका हुन्।
'सम्माननीय प्रधानमन्त्री देउवाले भारतमा दुइटा नयाँ कुरा गरिसक्नुभयो। पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नुभएन। दोस्रो, उहाँले बीजेपीका नेता भेट्न पार्टी अफिसमै जानुभयो। मेरो प्रश्न- के मित्रता कायम गर्न 'लम्पसार' नै हुनुपर्छ र? आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने?', लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्।
तीन दिने भारत भ्रमणका शुक्रबार दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री देउवा शुक्रबारै बीजेपी मुख्यालय पुगेका थिए। त्यहाँ उनलाई बीजेपी अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए। भेटमा नेपाली कांग्रेर र बीजेपीका सम्बन्धका बारेमा कुराकानी भएको शुक्रबार साँझ नै नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकारहरुलाई जानकारी दिएका थिए। 'नेपाली कांग्रेस र बिजेपीका बीचमा घनिष्ठ सम्बन्ध बढाएर विचारहरु आदानप्रदान गर्ने विषयमा सौहार्दपूर्ण कुराहरु भएको छ', उनले भने।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ। उनी आइतबार स्वदेश फर्किँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।