श्रीमान्!
म हुर्किदै जाँदा
मैले भिरिसकेको थिएँ
एक पुरुषको टाउको।
हजुरबा अनि बाको आगमनमा
लाग्थ्यो आमाहरु होइनन्
घरमा छायाँहरु ओहोरदोहोर गरिरेछन्।
हजुरबा र बाको कचहरीमा
कहिल्यै देखिनँ
घुम्टो ओढेका टाउकाहरु।
मानसिक वार्डको बेडमा
पल्टिरहेकी बेला
पहिलो पटक देखेको हुँ
बहिनी बाको सामु
खित्का छोडेर बेस्सरी हाँसेको।
श्रीमान्!
मेरो टाउकोमा गुन्जीरहेका
वधुशिक्षाका श्वोलकहरुले
मेरो मस्तिष्कमा बसाइँ सरेका
चाणक्यका उपदेशहरुले
म खोजिरहेको हुन्थें
सती झैं सर्वगुणयुक्त
एक सुशील श्रीमती।
श्रीमान्!
मैले बुझ्नु पर्थ्यो
किन पानी पोखिएको बहानामा
घाममा सुकिरहेको हुन्छ
प्राय: उनको एकल सिरानी।
मैले सोच्नुपर्थ्यो
किन भान्छा र भट्टीमा
विभाजित हुन्छन्
एउटै कार्यालयबाट
घर फर्किएका खुट्टाहरु।
श्रीमान्!
छोराछोरीका हरेक सामानदेखि
मेरो रुमाल अनि कट्टुसम्मको ठेगाना
फोन मै बताउन सक्थिन् उनी।
मेरो ठेगाना उनी
उनको ठेगाना म
मैले बुझ्नु पर्थ्यो।
श्रीमान्!
मैले गर्वका साथ पटकपटक
भनेको हुँला
खुट्टा भए जुत्ता कति कति!
मैले बनाएका नीलडाम लुकाउन
लगाउन थालेकी हुन्
ओठमा नीलो लिपिस्टिक।
उनले बयानमा पेश गरेका
तस्बिरभन्दा निकै भयानक छ
मैले दिएको
यातनाको आयतन।
श्रीमान्!
फैसला सुनाउनुअघि
एकपल्ट छामेर हेर्नुस्
कहीँ तपाईंले पनि भिर्नु भएको त छैन
एक पुरुषको टाउको?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।