काठमाडौं– पोल्यान्ड फिफा विश्वकप २०२२मा छनोट भएको छ। युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ।
घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो। पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे।
खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाए। ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे।
यस्तै प्ले अफकै फाइनलमा ब्रुनो फर्नान्डेसको दुई गोलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको छ।
अर्काे प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ। स्कटल्यान्ड र युक्रेनबीचको प्ले अफको सेमिफाइनल स्थगित अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।