काठमाडौं– फिफा विश्वकप २०२२ अन्तर्गत एसिया छनोटको प्लेअफमा भिड्ने एसियन टोलीको टुंगो लागेको छ। एसिया छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली युएईले दक्षिण कोरियालाई १-० गोलले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो।
खेलको ५४औं मिनेटमा हरिब अब्दुल्लाहले गरेको गोल नै निर्णायक बनेको थियो। प्लेअफमा अस्ट्रेलिया र यूएई भिड्ने पक्का भएको हो। समूह ‘ए’बाट शीर्षस्थानको इरान र दोस्रो स्थानको दक्षिण कोरियाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेका थिए।
यसअघि समूह ‘बी’ बाट अस्ट्रेलिया तेस्रो हुँदै प्लेअफमा पुगेको थियो। यस समूहबाट जापान र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका थिए।
अब अस्ट्रेलिया र युएईबीचको प्लेअफ आगामी जुन ७ मा कतारको राजधानी दोहामा हुनेछ। यो खेलको विजेता अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ। जसमा दक्षिण अमेरिका छनोटको पाँचौ हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ।
एसियाको प्लेअफ विजेता र दक्षिण अमेरिकाको पाँचौ हुने टोलीबीचको प्रतिस्पर्धा जुनमा हुनेछ। यो खेलको विजेता विश्वकपमा स्थान पक्का गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।