काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।
मंगलबार बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।
न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको फागुन ३० गते बसेको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। तर, श्रेष्ठविरुद्ध कुनै उजुरी परेन।
मंगलबार बसेको सुनुवाइ समितिको बैठकमा श्रेष्ठले विगतमा गरेका कामको विवरणसहित आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।