काठमाडौं– विवेकशील साझा पार्टीको बखुन्डोलस्थित कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ। मंगलबार पार्टी कार्यालय परिसरमा दुई पक्षबीच तनाव उत्पन्न भएपछि कार्यालय नै बन्द गरिएको हो।
मंगलबार पार्टी कार्यालयमा दुई पक्षको कार्यक्रम जुधेको थियो। अध्यक्ष रवीन्द्र मिश्र पक्षले नवनियुक्त प्रदेश संयोजक र इन्चार्जहरुलाई शुभकामना दिने कार्यक्रम राखेको थियो। बिहान १० बजेका लागि कार्यक्रम तय गरिएको थियो।
त्यस्तै, संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षले पार्टीका पछिल्लो गतिविधिहरुको जानकारी दिने उद्देश्यले बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरेको थियो।
दुई पक्षले कार्यक्रम जुधाएपछि पार्टी कार्यालयमा तनावको स्थिति उत्पन्न भएको हो। प्रहरीले दुवै पक्षलाई कार्यालय परिसरबाट बाहिर निकालेको थियो। पार्टी कार्यालयको तर्फबाट भने कार्यालय बन्द गरिएको सूचना टाँसिएको छ।
'केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द रहेको सूचित गरिन्छ,' सूचनामा भनिएको छ।
सिलवालले भने विवेकशील साझा पार्टीलाई मिश्रले राप्रपामा लैजान लागेको भन्दै आफूहरुले विरोध गरेको बताए। 'विवेकशील साझा कुनै पनि हालतमा राप्रपाकरण हुन सक्दैन। राप्रपासँग एकीकरणका लागि सहमति जनाउन सक्दैनौँ। हामी निर्वाचन आयोगमा पनि गइसकेका छौँ', कार्यालय परिसरमा उनले भने।
मिश्रले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै एक पक्षले उनलाई स्पष्टीकरण सोधेको छ। तर, मिश्र पक्षका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टी विधानअनुसार चलिरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।