काठमाडौं– एएफसी एसियन कप छनोटको तयारी लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ। थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो। नेपाल दुवै खेलमा पराजित भएको थियो।
पहिलो खेलमा थाइल्याण्डको राष्ट्रिय टोलीसँग नेपाल २–० ले पराजित भएको थियो। यस्तै, शीर्ष डिभिजनको टोली चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको थियो।
नेपालका लागि एक मात्रै गोल दर्शन गुरुङले गरेका थिए। नेपाल राष्ट्रिय टोलीले चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गरेको हो।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन्। यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्याण्ड भने समूह ‘सी’ मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।