काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले 'शक्तिकेन्द्र' नेपालका कम्युनिस्ट पार्टी मिलाउन सक्रिय रहेको आशंका गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै कम्युनिस्टलाई मिल्न दिन नहुनेमा सचेत रहनुपर्ने बताएका छन्।
कांग्रेस उपसभापति धनराज गुरुङले कम्युनिस्ट नेताहरु उत्तरतिर गएको विषयलाई नजिकबाट नियाल्नुपर्ने बताए। यसकारण अरु पार्टी बलियो रहेको भनेर कार्यकर्ताको मनोबल गिराउन नहुने उनको भनाइ थियो।
उनको भनाइलाई उद्धृत गर्दै एक कांग्रेस नेताले भने, 'उत्तरतिर कम्युनिस्ट किन गइरहेका छन् त्यो पनि बुझ्नुस्। मामाघर गएका कम्युनिस्ट भान्जाभान्जीलाई मिले भने के हुन्छ?'
यसैगरी, कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पनि शक्तिकेन्द्रले कम्युनिस्ट मिलाउन खोजिरहेको बताए। त्यसमा कांग्रेस सजग हुनुपर्ने उनको भनाइ थियो। गठबन्धन गर्ने कुरा पहिले सरकार बनाउँदा नै प्रतिबद्धता जनाइसकेकाले त्यसबाट दायाँबायाँ हुन नहुने उनले बताए।
उनको भनाइ थियो, 'सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो। यसमा प्रतिबद्ध हुनुपर्छ। शक्तिकेन्द्रले कम्युनिस्टलाई मिलाउन खोजेका छन्, यसमा सजग हुनुपर्छ।'
कांग्रेस नेता रामचन्द्र पौडेलले विदेशीहरुको इशारामा कम्युनिस्टसँग मिल्नै हुन्न भन्ने कुरा हुने गरेको बताउँदै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग मिलेरै अघि बढ्न सकिने बताएका छन्। उनले चुनावी संयन्त्र बनाएर तालमेल गर्ने विकल्पसमेत सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।