काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र बाँसबारी युथ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा खुमलटारले वीरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो।
खेलको छैटौं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीमा्र्फत् गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। तर, १३औं मिनेटमा आशालाल कुँवरले गोल गर्दै वीरगञ्जलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७५औं मिनेटमा रमेश थापाले गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए।
जितसँगै खुमलटारले ९ खेलमा १२ अंक जोडेको छ। वीरगञ्जले ९ खेलमा १० अंक जोडेको छ।
अर्को खेलमा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको चौंथो मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए।
२५औं मिनेटमा सुलेमान थापामगरले गोल गर्दै बाँसबारीलाई २–० को अग्रता दिलाए। ३२औं मिनेटमा सोम थापाले गोल गर्दै नयाँबस्तीलाई २–१ को स्थितिमा ल्याए । तर, ८५औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै बाँसबारीलाई ३–१ को जित दिलाए।
जितसँगै बाँसबारीले ९ खेलमा १३ अंक जोडेको छ। नयाँबस्तीले ९ खेलमा १३ अंक नै जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।