काठमाडौं– तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
चिनियाँ विदेशमन्त्रीले आजै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ उनीहरु दुवै जनासँग होटल हायातमा छुट्टछुट्टै भेट्ने कार्यक्रम तय भएको छ।
चिनियाँ विदेशमन्त्री आजै अपराह्न ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ। शुक्रकार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री वाङ यीले शुक्रबार साँझ काठमाडौंस्थिति चिनियाँ दूतावासको ब्रिफिङ लिएका थिए। त्यसैगरी शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए भने शनिबार दिउँसो परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेर बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।
विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै चिनियाँ सहयोगमा बनिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।