शेखर कोइराला, फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गर्दा नेपाली कांग्रेस कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभामा बोल्दै उनले आफूले अहिले 'कांग्रेस आई' (भारतीय कांग्रेस) सम्झिरहेको बताए।
'तपाईंहरुको चिन्ता पनि त्यही हो जस्तो लाग्छ, गठबन्धन गर्दा नेपाली कांग्रेस कहीँ कमजोर त हुँदैन। कताकता मलाई आभाष हुन्छ, भारतको कांग्रेस आई म सम्झिन्छु। दश वर्ष पहिलेको कांग्रेस आई गठबन्धन गर्दागर्दै आज चारैतिर कमजोर भएको अवस्था छ', उनले भने।
कोइरालाले गठबन्धन गर्ने, तर नेपाली कांग्रेसका कार्यकर्तासँग मेलमिलाप नहुने स्थिति रहेको बताए। जिल्ला, क्षेत्र र प्रदेशहरुमा कांग्रेस कार्यकर्ताको मेलमिलाप नहुने हो भने गठबन्धन गरे पनि त्यसको कुनै औचित्य नहुने उनको भनाइ छ।
'गठबन्धन कसरी गर्ने, के गर्ने भन्ने कुरा नेपाली कांग्रेसभित्र केन्द्रीय समितिमा छलफल हुँदैछ। कसरी जाने भन्नेमा हाम्रो हिजोदेखि छलफल चलिरहेको छ। त्यसले एउटा निचोड निकाल्छ। त्यो निचोडले हामी अगाडि बढ्छौं। त्यसमा तपाईंहरु ढुक्क हुनुहोस्', उनले आग्रह गरे।
कोइरालाले यसपटक स्थानीय निर्वाचन मात्रै होइन, प्रदेश र केन्द्रको निर्वाचन पनि कांग्रेसले जित्न जरुरी भएको बताए। उनले गत निर्वाचनमा एमाले र माओवादी एक ठाउँमा उभिएको भन्दै उनीहरु फेरि नमिलुन् भनेर आफूहरुलाई चिन्ता भइरहेको बताए। 'उनीहरु नमिलुन् भन्ने हामीहरुको चिन्ता हो। तर, गठबन्धन गर्दा कहीँ नेपाली कांग्रेसको विचार, सिद्धान्त कमजोर हुन्छ कि भन्ने चिन्ता पनि त्यत्तिकै हामी सबैलाई लागेको छ भन्ने मलाई लाग्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।