विमानस्थलमा वाङको स्वागतमा नेपाली अधिकारीहरु।
काठमाडौं– नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज विभिन्न कार्यक्रममा व्यस्त हुने भएका छन्।
चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अपराह्न काठमाडौं आइपुगे थिए।
नेपाल बसाइका क्रममा यीले शनिबार हाइकिङ गर्ने कार्यक्रम रहेको जनाइएको छ। शनिबार वाङ कीर्तिपुरमा हाइकिङ जाने सेड्युल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
आज पराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व वाङले गर्नेछन्।
वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
शनिबार साँझ नै परराष्ट्र मन्त्री नारायण खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।
परराष्ट्रमन्त्री खड्काको निमन्त्रणमा त्रिदिवसीय भ्रमणमा वाङको टोली काठमाडौं आएको हो। भारतको नयाँदिल्ली हुँदै उनी शुक्रबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए।
वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी लगायतले स्वागत गरेका गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।