काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रबाट निर्णय लाद्न खोजेको भन्ने अर्थ लाग्नेगरी गलत भाष्य तयार गर्न खोज्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा जानकारी गराएको, तर बाहिर गलत कुरा आइरहेको महतको दाबी छ।
पार्टीका प्रदेश सभापतिहरुले गठबन्धन गर्दै जाने हो कि एक्लै लड्ने? त्यहाँको अवस्थाका बारेमा जानकारी गराएको र हरेक क्षेत्रमा फरक–फरक अवस्था रहेको उनले बताए।
‘पार्टी (प्रदेश) सभापतिहरुले यर्थात के हो त्यही राख्नुभएको छ। हरेक ठाउँको फरक–फरक अवस्था छ,’ उनले भने, ‘एक्लै लड्नुपर्ने अवस्थामा एक्लै र नसकिने ठाउँमा मिलेर जानुपर्ने कुरा सबैले गर्नुभएको छ।’
सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिने क्रममा प्रवक्ता महतले पार्टीको निर्णय लद्ने पार्टी सभापति शेरबहादुर देउवा वा कसैले भनेको हो? भन्दै प्रश्न गरे। ‘पार्टी सभापति केन्द्रबाट निर्णय लाद्न चाहानुहुन्छ भनेर भनेर सार्वजनिक रुमपा लाने प्रयास भएको छ। पार्टीभित्र भर्खर छलफल सुरु भएको छ। पार्टी सभापतिले यस्तो चाहनुभएको थियो, तर हामीले यसो हुन दिएनौ वा यसो भन्यौं भनेर भन्ने रुपमा आइरहेको छ कि?’ निर्वाचनमा जाने भनेको कसरी बढीभन्दा बढी सिट जित्ने भनेर नै भएको उल्लेख गर्दै प्रवक्ता महतले गठबन्धन गरेर जित्ने कि नगरी जित्ने कुरामा अहिले छलपलल चलिरहेको दाबी गरे।
‘पार्टी सभापतिले कहाँ लाद्ने कुरा गर्नु भएको छ? केन्द्रीय समितिको निर्णय नमानेर सभापति जान सक्नुहुन्छ?’ उनले प्रश्न गरे, ‘केन्द्रीय समितिबाट हुने निर्णय पार्टीको आधिकारीक दृष्टिाकोण हैन? पार्टीभित्र जे निर्णय हुन्छ सबैको सहमति हुन्छ।’
केन्द्रीय समितिले गर्ने निर्णय नै पार्टी सभापतिको निर्णय हुने भन्दै उनले अहिले कसैसँग वा एमालेसँग तालमेलन हुन्छ वा हुँदैन भनेर भन्न नमिल्ने बताए। ‘जहाँ एक्लै जित्न सकिन्छ त्यहाँ एक्लै लड्न र मिलेर जानुपर्ने ठाउँमा जाने हो,’ उनले भने, ‘पार्टी सभापतिले पनि यही कुरा भन्नुभएको छ। जसरी धेरै सिट जितिन्छ त्यही गर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।