काठमाडौं- नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेशको तर्फबाट रिपोर्टिङ गरेका हुने केन्द्रबाटै गरिने गठबन्धनको विपक्षमा मत राखेका थिए।
पुनले बैठकमा गठबन्धन गरेर अरु पार्टीलाई भोट हाल्दै जाँदा नेपाली कांग्रेसको अवस्था 'कांग्रेस आई'को जस्तो हुने चेनावनी दिएका थिए। बैठकमा राखेको धारणाबारे उनले पत्रकारहरुलाई भने, 'कांग्रेस आईले भारतमा विभिन्न ठाउँमा गठबन्धन गर्दै गयो। आज कांग्रेस आई अब खोज्नुपर्ने अवस्था छ। कांग्रेसलाई भोट हाल्ने मान्छेलाई अरुलाई भोट हाल्न सिकाएपछि कहाँ जाने भन्ने कुरा छ। अहिले पनि गठबन्धन हुन्छ रे भनेपछि मान्छेलाई कांग्रेसमा संगठन गर्न अलि शिथिलता आएको छ।'
उनले अहिले कांग्रेसको स्थिति राम्रो भइरहेको बताए। कांग्रेसलाई गठबन्धन गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ थियो। 'हिजो पनि स्थानीय तहमा हामीले गठबन्धन गरेकै हौँ। त्यतिबेलाको फाइदा र बेफाइदा के भए। त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन गर्दा कांग्रेसले के अरुलाई दिन जान्यो, लिन जान्यो कि जानेन? त्यो हिसाबकिताब छ कि छैन। त्यो हिसाबकिताब छ भने गठबन्धनतिर जाऔँ', उनले भने।
पुनले गठबन्धन गर्नैपर्ने बाध्यता छ भने पहिले त पार्टीभित्रै गठबन्धन गर्नुपर्ने बताए। 'हाम्रो पार्टीभित्र गठबन्धन होस्। अनि मात्रै उपयुक्त आधारमा सम्बन्धित तहमा कुनकुन पार्टीसँग गठबन्धन गर्दा मिल्छ त? मिल्छ कि मिल्दैन? कुन पार्टीको मतभार कति छ? हाम्रो मत कति छ? मतभारका आधारमा पनि गठबन्धन हुनुपर्छ। हुने हो भने', उनले भने।
उनले सोलोडोलो हिसाबले यति सिट र उति सिट भनेर हुने गठबन्धनको कुनै औचित्य नभएको बताए। स्थानीय तहमा गठबन्धन भएर प्रदेश र प्रतिनिधि सभामा गठबन्धन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ।
'हामीले स्थानीय तहमा माओवादीसँग कतैकतै गठबन्धन गरेका थियौँ। तर, प्रतिनिधि सभा र प्रदेश सभामा अरु नै पार्टीसँग गठबन्धन भयो', उनले भने।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले कैयौँ स्थानमा गठबन्धन गरेका थिए। तर, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन भएको थियो।
शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये ६ प्रदेश सभापतिले धारणा राखेका छन्। सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायर भने बैठकमा उपस्थित नभएको पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।