फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने सुझाव दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्दै उनीहरुले केन्द्रबाट गठवन्धनको निर्णय गर्नेभन्दा स्थानीय तहको परिस्थिति र आवश्यकता हेरेर गर्नुपर्ने सुझाव आएको नेता विमलेन्द्र निधिले बताए।
६ प्रदेशका सभापतिहरुले आफ्नो कुरा राख्ने क्रम सुरु भएको र फरक फरक कुरा आइरहेको उनले बताए।
उनले केही प्रदेशका सभापतिहरूले गठबन्धन बनाउनुपर्ने र केहीले स्थानीय तहलाई त्यसको अधिकार दिनुपर्ने कुरा राखेको उनले बताए।
‘गठबन्धनलाई कायम राख्नुपर्छ भन्ने केही साथीहरुको राय आएको छ’ उनले भने, ‘केहीले आ–आफ्नो प्रदेशको अवस्था र स्थानीय तहको आवश्यकता अनुसार गर्न सुझाव दिनु भएको छ।’
सबैले आफ्ना कुरा राखेपछि पार्टीको मत तयार हुने निधिले बताए। केन्द्रीय सम्पादन समितिले पारित गरेको विषय अनुमोद गर्नुपर्ने भएकाले आजको बैठकमा उक्त कुराले पनि प्रवेश पाउने निधिले बताए।
त्यस्तै, सातै प्रदेशबाट आ–आफ्नो प्रदेशका अवस्था बारेमा बिफ्रिङ गर्ने कार्यक्रम चलिरहेको उनले बताए। ‘नेपाली कांग्रेसको अवस्था कुन प्रदेशमा कस्तो छ भन्ने जानकारी गराउने क्रम चलिरहेको छ’, निधिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।