काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाहेक अन्य पार्टीसंग चुनावी तालमेल हुने बताएका छन्।
सत्ता गठबन्धनमा सहभागी पाँच दलीय मोर्चाबाट अलग भएको जनमोर्चाले एमाले र राप्रपा बाहेक पार्टीसँग चुनावी तालमेल गर्ने केसीले बताए। एमाले प्रतिगमनकारी र राप्रपा प्रश्चगामी शक्ति भएको ठहर गर्दै स्थानीय तह चुनावमा तालमेल नगर्ने नीति जनमोर्चाले लिएको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेको केसीले बताए। ‘चुनावमा तालमेल हुनु स्वभाविकै भयो। तालमेल गर्ने नीति छ। एमाले जस्तो प्रतिगमनकारी र राप्रपा जस्तो पश्चगामी शक्तिसँग तालमेल हुँदैन’ नेपाल लाइभसँग कुरा गर्दै केसीले भने, ‘एमाले राप्रपा बाहेक कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुसँग चुनावी तालमेल गर्ने विषयमा छलफल गरिरहेका छौं। अझै टुंगो लागेको छैन्।’ चुनावी तालमेल गरेर जाने विषयमा पार्टीमा कुनै समस्या नभएको केसीले बताए।
यसअघि निर्वाचनमा जनमोर्चाले तीन स्थानीय तह प्रमुख र चार उपप्रमुख जितेको थियो। प्यूठानको झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो। यस्तै गुल्मीको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष, बाग्लुङ बरेन गाउँपालिका अध्यक्ष र काठेखोला गाउँपालिका उपाध्यक्ष जितेको थियो।
केही वडामा पनि उसले गत निर्वाचनमा जित निकालेको थियो। त्यतिबेला स्थानीय आवश्यकता आधारमा तालमेल र सहकार्य गरेको थियो। वैशाख ३० का लागि तय भएको स्थानीय तहको चुनावमा भने केन्द्रबाटै चुनावी तालमेल गरेर जाने जनमोर्चाले अख्तियार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।