काठमाडौं– युरो २०२० को विजेता इटाली विश्वकप २०२२मा छनोट हुन असफल भएको छ। विश्वकप छनोटको प्ले अफअन्तर्गतको सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै इटाली बाहिरिएको हो।
नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो। इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा चुक्दा विश्वकपको छनोटबाटै बाहिरिन पुग्यो।
अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।