काठमाडौं– थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको घरेलु मैदान चोनबुरीमा भएको खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा थाइल्याण्डलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफको अन्त्यतिर २ गोल खाएको थियो। ८२औं मिनेटमा थाइल्याण्डले खेलमा अग्रता लियो।
पेनाल्टी क्षेत्रभित्र नेपालका तीन डिफेन्डरले क्लिअर गर्ने प्रयास फिलिप रोलरलाई लाग्दै गोल भएको थियो। निर्धारित समयको एक मिनेट बाँकी रहँदा थाइल्याण्डले अग्रता दोब्बर पार्यो।
उसका लागि चओवात विराचार्टले गोल गर्दै २–० को जित सुनिश्चित गरे। खेलमा नेपालका लागि प्रशान्त अवस्थीले सिनियर टोलीबाट डेब्यू गरे। मौरिससविरुद्ध मैत्रीपूर्ण खेलका दौरान पहिलो पटक टोलीमा परेका उनले डेब्यूको अवसर पाएका थिएनन्।
उनी खेलको ७१औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए। नेपालले अब आइतबार थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ।
उक्त खेल क्लबसँग रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।