काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रबाट कुनै पनि किसिमको गठबन्धन र तालमेल नहुने बताएका छन्। यद्यपि, स्थानीय स्तरमा आवश्यकताका आधारमा त्यहीँको पार्टी कमिटीले तालमेलबारे निर्णय गर्नेसक्ने उनको भनाइ छ।
स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु 'एरेन्जमेन्ट' हुनसक्ने पोखरेलको भनाइ छ। बिहीबार पार्टी केन्द्रीय कमिटी बैठक सकिएपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरेलले निर्वाचनमा जान एमालेलाई अरुको 'वैशाखी' नचाहिने दाबी गरे।
सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्क गरे। उनले भने, ‘हामीले प्रष्टैसँग भनेका छौं– हामीहरु निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौ। जुन खुट्टाले भूइँ टेकेको छ।'
गठबन्धन र तालमेलका लागि केन्द्रबाट कुनै निर्णय नहुने बताएका पोखरेलले स्थानीय पार्टी कमिटीले भने आवश्यकताको आधारमा तालमेलको निर्णय गर्नसक्ने बताए। 'निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यक्ताको आधारमा सिट एरेजमेन्ट हुन सक्छ। त्यो अलग कुरा भयो । त्यो चाहिँ स्थानीय पार्टीले के ठान्छ, स्थानीय साथीहरुले के ठान्नु हुन्छ, त्यस आधारमा हुन्छ। तर, केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौं । गठबन्धन बन्दैन, गठबन्धन बनाउँदैनौं।'
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी केन्द्रीय कमिटीको बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको बताए।
स्थानीय तह निर्वाचनमा जित्ने र टिक्ने कार्यकर्ताहरुलाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको पोखरेलले जानकाी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।