काठमाडौं- यस वर्षको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण निर्धारित समयमा नहुने भएको छ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टोलीको संयुक्त बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोग र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने प्रष्ट पारेको हो।
एनएसएल प्रतियोगिता चैत २६ गतेबाट सुरु हुने घोषणा गरिएको थियो। एन्फाले बुधबारमात्र प्रतियोगिता २५ चैतदेखि १ जेठसम्म हुने गरी स्वीकृति दिएको थियो।
तर, प्रतियोगिता हुनुभन्दा १५ दिन अघि र मोफसलका गोल्डकपलाई जुधाएर स्वीकृति दिनुले एन्फा पदाधिकारीहरु पूर्वाग्रही भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
‘आयोजक र १० वटै क्लबको प्रतियोगिता तयारीका लागि ठूलो धनराशी खर्च गरिसकेको र समय अभावका कारण खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतिगोगितामा सहभागी हुन असमर्थ भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।
एन्फाले खेलाडीहरु उपलब्ध गराई सहयोग गर्नुपर्ने भए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गर्ने क्लबबाट खेलाडी उपलब्ध नभएकाले छोटो समयमा प्रतियोगिता गर्न सम्भव नभएको विज्ञप्तिमा उल्लेख छ।
एनएसएल आयोजक र १० क्लबले हाल कायम रहेको सम्झौता स्वतः नविकरण हुने र प्रतियोगितालाई बार्षिक क्यालेण्डरमा अन्य प्रतियोगितासँग नजुध्ने गरी भदौ–असोजमा राख्नसमेत एन्फासँग माग गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।