काठमाडौं- नेकपा एमालेका केही नेताले बहसमा ल्याएको वाम एकताको विषयलाई एमालेको नेतृत्वले पार्टी प्रवेशको लहरलाई प्रभावित पार्ने प्रयासको रुपमा अर्थ्याएको छ।
बुधबारदेखि जारी बैठकको समापनपछि प्रतिक्रिया दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमाले कसरी अगाडि जाने भन्ने बारेमा विस्तृतमा उल्लेख गरिएको बताए।
'म दोहोर्याएर भन्न चाहन्छु, सिद्धान्ततः नेकपा एमाले तालमेल र वाम एकताको विरोधी होइन। तर अहिले वाम एकता वा तालमेलको नारा उठाएर पार्टी प्रवेशलाई रोक्ने, पार्टीलाई सिद्धान्ततः वस्तुतः कमजोर बनाउने र पार्टीमा आएको जनलहरलाई प्रभावित पार्ने काम कदापी गर्नु हुँदैन', उनले भने।
उनले स्थानीय आवश्यकताका आधारमा तल्ला कमिटीहरुले आवश्यक महसुस गरे भने त्योभन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्ने बताए। 'त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौँ। तर हामी आफ्नो पार्टीको जनमत बढाउने, पार्टीमा बढिरहेको प्रवेशको लहरलाई रोक्ने र कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति बनाएर जाँदैनौँ', उनले भने।
केही दिन यता एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकताको आवश्यकता औँल्याउँदै आएका छन्। उनले केही आधार सहित स्थानीय तहको चुनावअघि नै वाम एकता वा गठबन्धन सम्भव रहेको बताउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।