काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले कसैले चाहँदैमा गठबन्धन नटुट्ने बताएका हुन्।
दाहालले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए। ‘गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन,’ उनले भने, ‘अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि गठबन्धन रहन्छ।’
नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन्। सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौं भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।’
भरतपुर महानगरपालिकामा रेनु दाहाल प्रमुख छन्। यसअघि नेपाली कांग्रेससँगको तालमेलमा दाहालपुत्री निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्याउने जनाउँदै आएको छ।
जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ।
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज चितवन पुगेका हुन्। उनले आज माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।