काठमाडौं- साफ यू–१८ महिला च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ।
भारतको जम्सेदपुरमा बुधबार सम्पन्न खेलमा बंगलादेशसँग २-१ गोलअन्तरले पराजय ब्यहोरेसँगै नेपाली टोलीले प्रतियोगितामा जितविहीन बनेको हो।
खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो। अमिसा कार्कीले खेलको चौथो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन्।तर, पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफमा भने सम्हालिन सकेन।
६८औं मिनेटमा बंगलादेशकी कप्तान शामसुन्नहरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्। त्यस्तै, ८४औं मिनेटमा शाहदा अख्तर रिपाले गोल गर्दा बंगलादेशले पुनरागमन गर्दै २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग ७-० ले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ४-२ गोलअन्तरले पराजय ब्यहोरेको नेपाल तेस्रो खेलमा भारतसँग ५-१ गोलअन्तरले पराजित भएको थियो। योसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।