फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेको संसद् विघटनको फेरि बचाउ परेका छन्। बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी रहेको बताए।
पार्टी कब्जा गर्ने षड्यन्त्र गरेपछि संसद् विघटन परेको उनको भनाइ छ। उनले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले तत्कालीन नेकपामाथि कब्जा जमाउन खोजेपछि संसद् विघटन गरेको बताए।
उनले अहिले वामपन्थी एकताको जरुरी नरहेको बताए। अरु उनले प्रचण्डलाई एमालेमा प्रवेश गर्न आग्रह गरे। 'यतिबेला वामपन्थी एकता होइन, पार्टी प्रवेश गर्नुपर्यो। प्रचण्डको मान्छे सबै यतातिर ल्याउनु पर्यो। प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त!', ओलीले भने।
प्रचण्डले 'जनयुद्ध'का नाममा कार्यकर्ता र जनतालाई धोका दिएको ओलीको भनाइ छ। प्रचण्डले बरु परिवारकै लागि उद्योग खोलेको भए हुने ओलीको टिप्पणी छ।
उनले एमाले बलियो भएर अगाडि बढ्नुपर्ने र राष्ट्र निर्माणको अभिभारा बोकेर हिँड्नुपर्ने बताए। पार्टीलाई अनुशासित, धारिलो र योजनाबद्ध रूपमा हिँडाउनुपर्ने उनको भनाइ छ।
'केजरीवाको अस्ति बनेको पार्टीले अलिकति काम गर्दा अहिले कस्तो प्रभाव पारेको छ हेर्नुस त? त्यहाँका अरु पार्टीलाई कसरी कमजोर बनाएको छ। त्यो भर्खर स्थापित भएको पार्टी हेर्ने हो भने त नेपालमा लोकतन्त्रका लागि यत्रो त्याग गरेको पार्टी हामी छौँ। परिवर्तनका हाम्रो त्याग, योगदान छ। अब यतिकै डिबेटिङ सोसाइटी जस्तो गरेर हुँदैन। हाम्रो बहस भनेको नै परिवर्तनका लागि हो', ओलीले भने, 'हामी विचार, विधान र विधिमा आवद्ध छौं ।पार्टी विचार प्रतिकूल हुने गरि कुनै विचार हुँदैन। एक्लै हिँड्ने काम नगर्नुस्। यो ठीक तरिका होइन। आफ्नो लयमा होइन पार्टीको लयमा सबै साथीहरू हिँड्नपर्छ।'
जहाँ कमजोर देखिएको छ त्यहाँ जसरी पनि सुधार्नुपर्ने ओलीले बताए। जसका लागि पौने दुई महिनाको अवधि पर्याप्त हुने उनको भनाइ छ।
'सबै रातदिन नभनेर लाग्नुस्। ठूलो सकारात्मक भूमिका खेल्न सक्छौं। निर्वाचनको तयारीका लागि कहाँ कहाँ के गर्नुपर्छ लाग्नुहोला। प्रदेशको रिपोर्टिङ मिहिनेतका साथ साथीहरूले दिनु भएको छ', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।