काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न स्वीकृति दिएको छ।
पछिल्लो समय ए डिभिजन क्लबहरुले खेलाडी अनुबन्धलाई लिएर असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो।
एन्फाले उक्त विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ७ सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो।
सो कार्यदलले बुधबार बिहान असन्तुष्ट चार क्लबहरूसँग छलफल गरेपछि प्रतियोगिता सञ्चालनको लागि स्वीकृति पत्र प्रदान गरिएको हो।
एनएसएलले पनि यसअघि एन्फासामू चैत २५ गतेदेखि जेठ १० गतेसम्म मिति उपलब्ध गराइदिन माग गरेको थियो ।
सोही बमोजिमको स्वीकृति सहितको पत्र एनएसएलले पाएको छ। एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको बेहोरा उल्लेख छ।
बुधबारको बैठकले प्रतियोगिता सम्पन्न भएसँगै एन्फासँगको सम्झौता स्वतः खारेज हुने निर्णय गरेको छ।
यस्तै, एनएसएलका लागि खेलाडीको सरुवा क्लबबीच आपसी समझदारीमा गर्न दिने निर्णय भएको एन्फा स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।