काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजा परिषद्समेत आफ्नो पार्टीमा समाहित भएको बताएका छन्। बुधबार सुरु भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले नेकपा एमालेको विरासत बताउने क्रममा त्यस किसिमको दाबी गरेका हुन्।
'इतिहासको हिसाबले हामीसँग अहिले १९९१ सालमा (खासमा १९९३) स्थापना भएको प्रजा परिषद्समेत हाम्रै पार्टीमा समाहित भएको छ। अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन, नेपाली लोकतान्त्रिक आन्दोलनको संगठित इतिहास, टंकप्रसाद आचार्यहरुले १९९१ सालमा प्रजापरिषद् सुरु गर्नुभयो, त्यसको प्रभावबाट शुक्रराज शास्त्रीहरुले १९९३ सालमा गिरफ्तारीमा पर्ने स्थिति भयो। १९९७ सालमा त्यतिबेलाका मान्यता अनुसार जातको हिसाबले मृत्युदण्डबाट जोगिनुभयो। चार जना शहादत प्राप्त गर्नुभयो,' उनले भने।
विस १९९३ सालमा टंकप्रसाद आचार्यहरुको नेतृत्वमा स्थापना भएको नेपाल प्रजा परिषद्ले २०१५ साल निर्वाचनमा सहभागिता जनाएको थियो। फुटका बीच निर्वाचनमा सहभागी भएको सो पार्टीले कुनै पनि सिट जितेको थिएन। त्यसपछि भने सो पार्टी अस्तित्वविहीन हुँदै गएको थियो।
ओलीले सबै इतिहासले लोकतान्त्रिक आन्दोलनको मूलधार आफूहरु भएको देखिने बताए। 'संगठनात्मक इतिहास, एकता र एकीकरणको इतिहास, आन्दोलनको इतिहास र त्यसको विरासतको इतिहास, त्यसको उत्तराधिकारको इतिहास अनेक हिसाबले नेकपा एमाले नै हो। देशको सबैभन्दा पुरानो र सबैभन्दा मूलधार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने स्थिति छैन,' उनले भने।
उनले अहिले कम्युनिस्ट पार्टीहरुमध्ये एमाले ठूलो भनिने गरेकोप्रति असन्तुष्टि जनाए। 'भूलवश, भ्रमवश अहिले पनि मान्छेहरु भनिरहेका छन्। वास्तविकता त्यस्तो होइन। नेकपा एमाले देशको सबैभन्दा ठूलो र प्रमुख राजनीतिक पार्टी हो,' उनले भने, 'आज वर्तमानको जनविश्वासको हिसाबले, जननिर्वाचित संस्थाहरुमा प्रतिनिधित्वको हिसाबले, राष्ट्रलाई अगाडि बढाउने नीतिका प्रश्नमा, अरु व्यवहारिक प्रश्नमा, हामी प्रमुख पार्टी हौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।