काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको डेढ–दुई महिना भित्रै मधेसलाई माओवादीमय बनाउने गरी लाग्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टीको मधेस प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रचण्डले भने, 'डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय, माओवादीमय बनाउनु पर्छ।'
प्रचण्डले नेपाली क्रान्तिमा मधेसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै २०७० को निर्वाचनमा मधेसले आफ्नो पार्टी र नेतृत्वलाई राम्ररी साथ दिएको बताए।
प्रमुख प्रतिपक्षी दलले अहिले सदनमा भाँडभैलो गरिरहेको टिप्पणी गर्दै प्रचण्डले त्यसको भण्डाफोर गर्न मधेसका युवाहरु पनि लाग्नुपर्ने बताए।
'सदनमा प्रतिपक्षीले न संवैधानिक न कानुनी, कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ। त्यो पनि प्रतिगमनकै निरन्तरता छ। जुन सेटिङमा प्रतिगामीहरुले संसद् विघटन गरे त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन्। यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन,' प्रचण्डले भने, 'म मधेसका तमाम युवालाई अपिल गर्छु– तपाईंहरु भाँडभैलो गर्न खोज्नेलाई इटको जवाफ पत्थरले दिनुस्।'
आफू प्रधानमन्त्री हुँदा मधेसी जनताको भावनानुसार २ पटक संविधान संशोधन प्रस्ताव दर्ता गरेपनि एमालेले नै त्यसलाई असफल पारेको पनि प्रचण्डले जिकिर गरे।
'म प्रधानमन्त्री हुँदा २ पटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरे, तर एमालेले त्यसलाई असफल पर्यो। तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिस्टले नै मधेसी जनताको अधिकारमाथी खेलवाड गरेको छ,' प्रचण्डले भने, 'नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ। हामीले जनतामा गएर यो भनिदिनु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।