काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादको निदान हुन नसकेको प्रष्ट देखिएको छ। सोमबार राति केही नेताहरुको समेत पहलमा अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेको सहमति संरक्षक शेष घले अस्वीकार गरेका छन्।
कुल आचार्य र अर्का अध्यक्षका प्रत्यासी डा बद्री केसीले एक-एक वर्ष नेतृत्व गर्नेगरी संस्थापन पक्ष भने अघि बढेको छ। जसअनुसार संघको दशौं महाधिवेशन चैत १० र ११ काठमाडौंमा हुने भएको छ। मंगलबार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो।
नेताहरुको आग्रहमा आचार्यले 'क्याम्प परिवर्तन' गरेको घले पक्षका एनआएरएनहरुको बुझाइ छ। एनआएरएनएका उपाध्यक्ष सोनाम लामाले भने, 'कुल आचार्य व्यक्तिगत स्वार्थमा लाग्नुभयो, हामीहरू व्यक्तिगत नभइ संस्थागत हित हेर्छौं। हाम्रो विधान बलियो छ, दुई अध्यक्षको व्यवस्था स्वीकार गर्दैन।'
संस्थामा राजनीतिको प्रत्यक्ष हस्तक्षेप समेत देखिएको बताउँदै लामाले त्यस्तो हुन नदिने बताए। ‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन हाम्रोमा राजनीति पस्नु हुन्न', एनआरएनए विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक लामाले भने।
त्यसअघि बोलेका संरक्षक घलेले संस्थामा एकता हुन सक्ने आधार कमजोर बनेको संकेत गर्दै भूकम्प गएको बताए। उनले भने, `संस्थामा भूकम्प गएको छ। सन् २०१५ को भूकम्पले सिकाए जस्तै यसले सिकाउनेछ।´ उनले यसको भविष्य समेत अनिश्चित रहेको उल्लेख गर्दै थपे, 'भोलि के हुन्छ। केही थाहा छैन। राम्रो होस् भन्ने आशा छ।´
आचार्यले सहमति जनाएपछि संरक्षक घले पक्षले आयोजना गरेको सम्मेलन केही दिन रोक्न संस्थापन पक्षले आग्रह गरेको थियो। तर, अझै कुरा मिल्न बाँकी रहेको बताउँदै सम्मेलन मंगलबार सुरु गरिएको छ।
उता संस्थापन पक्षले भने महाधिवेशनका लागि पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरु एकतावद्ध रहने दाबी गरे।
उनले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए। ‘गैरआवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ। म दावाका साथ भन्न सक्छु। यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्दै जानेछ। मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौँ, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौँ’ अध्यक्ष पन्तले भने।
त्यस्तै, अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनैजना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए।
केसीले भने, ‘अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै पनि उपाय छैन। हरेक व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि जानुपर्छ भन्नेमा हामी सहमत छौँ। यो डेढ वर्षको समय हामी सबैले एकैसाथ सामूहिक नेतृत्व गर्ने गरेर अघि बढ्ने निर्णय गरेका छौं।’
त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। उनले सबै गैरआवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए।
आचार्यले भने, ‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ। हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ। हामी पहिला भएका कमी कमजोरीहरुलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ।’
अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताइन्।
‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए। यी विवादलाई अन्त्य गर्नका लागि र संस्थालाई बलियो बनाउनका लागि इमान्दारितापूर्वक काम गरिरहेका छौं। अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ’ उनले भनिन्।
एनआरएनएले गैरआवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ। यो महाधिवेशनपछि सहमतिय प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।