काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका छन्। मंगलबार मधेस प्रदेशमा पार्टीको प्रशिक्षणका लागि पुगेका प्रचण्डले जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै अनौपचारिक रुपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलेको बताए।
‘मन्त्रिपरिषद् हेरफेरको कुरा चलेको छ। तर औपचरिकढंगले टुंगिएको छैन। केही मन्त्रालय हेरफेर हुने सम्भावना छ’ प्रचण्डले भने, ‘नयाँ मन्त्री आउने सम्भावना छ। भएका मन्त्रीपनि हेरफेर हुन सक्छ।’
गठबन्धनमा मन्त्रीको भागवण्डा माओवादीले कम लिएको भन्दै प्रचण्डले त्यसको समेत पूर्ति हुने बताए। ‘सबैभन्दा बढी त्याग गठबन्धनमा माओवादीले गरेको छ। हामीले पाउँनु पर्ने मन्त्रालय त्यति पाएका छैनौ’ प्रचण्डले भने, ‘देउवाजीले महाधिवेशनसम्म मलाई सहयोग गर्नुस् भनेर असाध्यै जोड गर्नुभयो। माधव नेपालले भर्खरै नयाँ पार्टी बनाएको सारै दु:ख छ मलाई सहयोग गर्नु पर्यो भन्नुभयो। सहयोग जति सबै माओवादी केन्द्रले गर्नु परेको छ।’
मन्त्रिपरिषदमा हेरफेर हुँदा हैसियत अनुसार माओवादीले मन्त्रालयमा दाबी गर्ने उनले बताए। 'अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ भनेको छु' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।