काठमाडौं- भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपालले घरेलु टोली भारतसँग ५–१ ले पराजित भएको हो।
भारतको जितमा लेन्डा कोम सेर्टाेले ह्याट्रिक पूरा गरिन् भने सिल्की देवी हेमाम र अनिता कुमारीले १/१ गोल गरिन्। नेपालकी सन्दिपा भोलानले एक गोल फर्काइन्।
खेलको सुरुआतदेखि दबाबमा राखेको घरेलु टोली भारतले १६औं मिनेटमा सिल्की देवी हेमामको गोलबाट अग्रता लिएको थियो।
२३औं मिनेटमा लेन्डा कोम सेर्टाेले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन्। यता, ३८औं मिनेटमा लेन्डा कोम सेर्टाेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भारत पहिलो हाफमा ३–० को अग्रता दिलाइन्।
५६औं मिनेटमा अनिता कुमारीले गोल गर्दै भारतलाई ४–० को फराकिलो जिततर्फ अगाडि बढाइन्। ६१औं मिनेटमा लेन्डा कोम सेर्टाेले ह्याट्रिक पूरा गरेपछि भारत ५–० ले अघि बढ्यो। ७९औं मिनेटमा सन्दिपा भोलानले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपालले तेस्रो हार बेहोर्न पुग्यो।
लगातार तेस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ। यसअघि राउन्ड रोविन लिगको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। यस्तो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको थियो।
जितसँगै भारतले तीन खेलबाट ९ अंक जोडेको । अब भारतले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपनि च्याम्पियन बन्ने छ।
बंगलादेशको २ खेलबाट ३ अंक छ। बंगलादेशलाई च्याम्पियन बन्न नेपाललाई हराउँदै अन्तिमा खेलमा भारतलाई पनि फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ। पहिलो राउन्डमा भारत १–० ले विजयी भएको थियो। नेपालले राउन्ड रोविनको अन्तिम खेलमा २३ मार्चमा बंगलादेशसँग खेल्नेछ।
नेपालले अंकको खाता खोल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।