काठमाडौं- एएफसी फुटसल एसियन कप क्वालिफायरको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार २२ सदस्यीय टोलीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेका हुन्।
प्रशिक्षणमा ३२ खेलाडी रहेका थिए। त्यसपछि दोस्रो चरणमा २२ खेलाडी प्रशिक्षणमा रहेका थिए। अन्तिम चरणमा लक्ष्मण थापा, सुमितकुमार आले, विक्रान्तनरसिंह राना, धिरज जोशी, मिलन राई, प्रवेश जोशी, अमित लामा र मनोज गुरुङले स्थान बनाउन सकेनन्।
एएफसी फुटसल एसियन कप छनोट चरणका खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ। छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन्। नेपालले १० र १२ अप्रिलमा खेल्ने तालिका छन्।
यता, समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स छन्। प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन्।
यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पूर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन्। आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।