काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले मंसिर ३० र त्यसपछि अध्यादेश जारी गरेर गरेको विभिन्न ५२ संवैधानिक निकायमा गरेको पदाधिकारी नियुक्तिलाई खारेजी गर्ने तयारी भइरहेको बताएका छन्।
उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि यस्तो खेल भइरहेको दाबी गरे। एमालेको पोलिटब्युरो बैठकमा बोल्दै उनले निर्वाचन कलात्मक रुपमा सार्नका लागि निर्वाचन आयोग र सत्ता गठवन्धनका बीचमा निरन्तर संवाद समेत भइरहेको दाबी गरे।
‘यस पटक कलात्मक रुपमा निर्वाचन सार्ने प्रयासमा गठबन्धन रहेको छ ’ उनले भने ‘निर्वाचन आयोगमा भएका नियुक्ति खारेज गरेर २ जनामात्र कायम गर्ने खेल समेत भइरहेको छ। अरुको अदालतबाट बदर गराउने अनि २ जनाले मात्र निर्वाचन हुँदैन भन्दिन परो भनेर निर्वाचन आयोगलाई सत्ता गठबन्धनले भनिरहेको छ।’
सर्वोच्च अदालतले यस विवादमा गत शुक्रवारदेखि सुनुवाइ थालेको छ। अर्को पेसी बुधबारका लागि रहेको छ। बुधबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलिया र इश्वरी पौडेलमात्र रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।