काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सम्पन्न खेलमा बार्सिलोनाले ४–० को फराकिलो जित हात पारेको हो।
बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ तथा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १–१ गोल गरे। पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेका थियो।
बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो। डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै ३–० को स्थितिमा पुर्याए।
त्यसको ४ मिनेट नबित्दै बार्सिलोनाले विवादका बीच ४–० को अग्रता लियो। औबामेयाङले टोरेसको पासमा सहजै गोल गरेका थिए। रेफ्रीले सुरुमा सहायक रेफ्रीकै निर्णयमा अफसाइड दिएपनि भीएआरले गोलको मान्यता दिएको थियो।
जितसँगै बार्सिलोनाले रियलसँगको अंक दूरी १२ मा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ।
शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अंक छ। दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।