काठमाडौं– चैत अन्तिम साताबाट सुरु हुने भनिएको नेपाल सुपर लिग (एनएसएल)को आइतबारका लागि तय गरिएको ‘टाइसिट ड्र’ कार्यक्रम स्थगित गरिएको छ।
शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगका ४ क्लबसँगको बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारको ‘टाइसिट ड्र’ रद्द गर्न आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)लाई पत्र पठाएको थियो। एन्फाको पत्रपछि ‘टाइसिट ड्र’ तत्कालका लागि स्थगित गरिएको प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए।
‘आइतबारका लागि तय गरिएको ‘टाइसिट ड्र’ स्थगित गरेका छौं,’ उनले नेपाल लाइभसँग भने,‘अब क्लब र एन्फासँगको छलफल हुन्छ। त्यसपछि ड्र सार्वजनिक गर्छौं।’
पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा ‘ए’ डिभिजन लिगका ४ क्लब न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी, थ्रीस्टार र संकटाले विरोध जनाउँदै आएका छन्।
यसअघि एन्फाले असन्तुष्ट क्लबहरुको छलफलपछि फागुन २० गते अक्सन रोक्न पत्र पठाएको थियो। तर, अन्तिम समयमा पत्र पाएको भन्दै एनएसइएमले अक्सन गरेको थियो।
एनएसएलका कारण उत्पन्न अन्यौलताका विषयमा ‘ए’ डिभिजन क्लबहरुले उठाएको माग सम्बोधन गर्न एन्फाको कार्यसमितिको बैठकले बिहीबार अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्षत्रय कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का, सहमहासचिव अरुणमान जोशी र सदस्य विजय घले रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।