काठमाडौं- युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा साविक विजेता तथा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड भिड्ने भएका छन्।
युईएफएको मुख्यालय न्योनमा शुक्रबार भएको ड्र अनुसार चेल्सी र रियल सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका हुन्।
त्यस्तै, क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब एटलेटिको मड्रिडसँग खेल्नेछन्। यता, स्पेनिस क्लब भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ।
अन्तिम क्वाटरफाइनलमा पोर्चुगलको बेन्फिका र इंग्लिस क्लब लिभरपुल भिड्ने छन्। राउन्ड अफ १६ मा चेल्सीले फ्रान्सको च्याम्पियन लिललाई समग्रमा ४-१ ले हराएको थियो। यता, रियलले फ्रान्सेली क्लब पीएसजीमाथि ३-२ को पुनरागमन जित हासिल गरेको थियो।

यस्तै, भिल्लारियलले इटालीयन क्लब युभेन्टसलाई ४-१ ले पराजित गरेको थियो। एटलेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ ले पाखा लगाउँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।
बायर्नले आरबी साल्जबर्गमाथि समग्रमा ८-२ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो भने लिभरपुलले इटालीको च्याम्पियन इन्टर मिलानमाथि २-१ को जित हासिल गरेको थियो।
म्यानचेस्टर सिटीले पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनमाथि ५-० को जित दर्ता गर्दा बेन्फिकाले समूह चरणमा अपराजित रहेको आयाक्सलाई समग्रमा ३-२ ले हराएको थियो।
क्वाटरफाइनल चरणका खेलहरु अप्रिल ५/६ मा पहिलो लेग र अप्रिल १२/१३ मा दोस्रो लेग हुनेछ। यस्तै, सेमिफाइनलको पहिलो लेग अप्रिल २६/२७ तथा दोस्रो लेग मे ३/४ मा हुनेछ। च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।