काठमाडौं– टर्किस क्लब गालाटासारेमाथि पुनरागमन जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो। यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे। घरेलु टोलीका मार्काओले गोल गरेका थिए।
खेलको २८औं मिनेटमा मार्काओको गोलबाट घरेलु टोली गालाटासारेले १–० को अग्रता लिएको थियो। उनले एलसान्द्रु सिकाल्डोउको पासमा हेडमार्फत गोल गरेका थिए।
एक गोलले पछि परेको बार्सिलोनाले ३७औं मिनेटमा बराबरी गोल फर्कायो। पेड्रीले फेरान टोरेसको पासमा गोल गरेका थिए।
दोस्रो हाफको सुुरुमै पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। उनले ४९औं मिनेटमा फ्रान्की डि जोङको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना नकआउट चरणमा पुग्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।