काठमाडौं- भारतमा जारी वुमेन्स साफ यू–१८ च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। भारतको जमसेदपुरमा बिहीबार सम्पन्न खेलमा नेपाल दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ४-२ गोल अन्तरले पराजित भएको हो।
बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरिन्। नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल फर्काइन्।
पहिलो हाफमै ४-१ ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन। नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बंगलादेशसँगको धुरी घटाएको थियो।
लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ७-० ले पराजित रहेको थियो।
दोहोरो राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ। जारी प्रतियोगितामा जितविहीन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ। भारत र बंगलादेशले भने समान ३ अंक जोडेका छन्।
गोल अन्तरका आधारमा भारत शीर्षस्थानमा छ। यता, बंगलादेश दोस्रो स्थानमा छ। अब नेपालले मार्च २१ मा पुन: भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।