काठमाडौं– राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले होली मनाएका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार राष्ट्रिय टोलीका खेलाडी र अफिसियलले एकआपसमा रङ दलेर होली मनाएका हुन्।
एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली चैत दोस्रो साता थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ। थाइल्याण्डको राष्ट्रिय टोली र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबारदेखि बन्द प्रशिक्षणमा सुरू गरेको छ।
१० चैत थाइल्यान्डको राष्ट्रिय फुटबल टोली र १३ चैतमा चोनबुरी एफसीसँग हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास सुरू गरेका छन्। तर, वैदेशिक क्लबहरूमा अनुबन्ध भएर खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, डिफेन्सिङ मिडफिल्डर रोहित चन्द र फरवार्ड जगजित श्रेष्ठ भने राष्ट्र टोलीको बन्द प्रशिक्षणमा उपस्थित हुने छैनन्।
उनीहरू थाइल्यान्डसँगको भ्रमणमा भने सहभागी हुने एन्फाले जनाएको छ। यता, एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई पनि मैत्रीपूर्ण खेलका लागि उपस्थित हुने छैनन्।सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध ५ अप्रिलमा प्रतिस्पर्धा गर्दैछ।
मछिन्द्रले ब्लुस्टारविरुद्धको खेलमा जित निकाले १२ अप्रिलमा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ। समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ।
नेपाल राष्ट्रिय टोलीले चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो। छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन्।
यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड भने समूह 'सी' मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।