काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई पराजित गरेको छ। लिभरपुलले आर्सनललाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा पोर्चुगिज फरवार्ड डिएगो जोटा र ब्राजिली मिडफिल्डर रोबर्टाे फिर्मिनोले गोल गरे।
इमिरेट्स स्टेडियममा बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जोटा र फिर्मिनोले दोस्रो हाफमै गोल गरेका थिए। खेलको ५४औं मिनेटमा जोटाको गोलबाट लिभरपुलले खेलमा १–० को अग्रता बनायो। उनले थियागो अलकान्ताराको पासमा गोल गरेका थिए।
खेलको ६२औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी भयो।
योसँगै प्रिमियर लिगमा आर्सनलको ६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। पछिल्लो ९ खेलमा आर्सनलले ५ जित र समान २ बराबर र हारको नतिजा निकालेको थियो।
यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ। लिभरपुलको २९ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको सिटीको ७० अंक छ।
पराजित आर्सनल २७ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।