काठमाडौं– इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। स्पेनिस क्लब भिल्लारियलसँग घरेलु मैदानमै पराजित हुँदै युभेन्ट्स बाहिरिएको हो।
बुधबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगममा युभेन्ट्स ३–० ले पराजित भएको थियो।
बुधबार रातिको खेलमा भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे। एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै तीन गोल दोस्रो हाफमा गरेको थियो।
प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेका थिए। ८५औं मिनेटमा पाउ टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एर्नाउट डानजुमाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरे। म्याथ्थिज डि लेग्टले डानजुमालाई फउल गर्न पुगेपछि रेफ्रीले खेलमा भिल्लालाई दोस्रोपटक पेनाल्टी दिएका थिए।
युभेन्ट्सले क्वाटरफाइनल पुग्न बराबरीको नतिजा पर्याप्त रहेपनि आफ्नो गल्तीमा गोल खान पुग्दा बाहिरिन बाध्य बन्यो। पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणबाटै बाहिरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।