काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको छ।
भारतको जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।
पहिलो हाफमा ३–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा ४ गोल थप्यो।
भारतका लागि सुजेश पोट्टेकाटले खेलको १४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्।
३४औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा भारतले ३–० को अग्रता बनाएको थियो।
खेलको ७४ औं मिनेटमा अपुर्नाले चोथो गोल गरिन् भने ८१ औं मिनेटमा पुर्णिमाले पाँचौं र ८९ औं मिनेटमा सुनिता मुन्डाले छैटौं गोल गरिन्।
खेलको इन्जुरी समयमा नितुले गरेको गोलसँगै भारतले नेपालविरुद्ध ७–० को जीत निकालेको हो।
उद्घाटन खेलमा हासिल गरेको जितसँग भारतले खेलमा ३ अंक जोडेको छ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। अब नेपालले बिहीबार बंगलादेशसँग दोस्रो खेल खेल्ने छ।
नेपालले मार्च २१ मा फेरि भारत र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।