काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबमाथि फराकिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा टुसालले खुमलटारमाथि ३-० को जित निकालेको हो।
३५औं मिनेटमा टुसालले अग्रता बनाएको थियोे। खुमलटारका रमेश थापाबाट आत्मघाती गोल उपहार पाएपछि टुसालले अग्रता लिएको हो।
८३औं मिनेटमा गोल गर्दै टुसालले अग्रता दोब्बर पार्यो। उसका लागि दीपकुमार लामाले गोल गरे।
यस्तै, खेलको निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा दीपशृजन कार्कीले तेस्रो गोल गर्दै टुसाललाई ३-० को सहज जित दिलाए।
यसअघि आजै भएको पहिलो खेलमा झम्सिखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलको १४ औं मिनेटमा सुमन योङ्ग्याले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, १८औं मिनेटमा झम्सीखेलका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
टुसालले लिगमा ५ खेलबाट ६ अंक जोडेको छ। यस्तै, समान खेलबाट खुमलटारले पनि ६ अंक जोडेको छ।
बराबरीसँगै नयाँ बस्तीले ५ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथों स्थानमा यथावत् रहेको छ। यता, झम्सीखेलले ५ खेलबाट ६ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।