कैलाली- 'पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप' फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार साबिक बिजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।
धनगढी रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्। दुवै टिमले जितका लागि खेल्ने बताए।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले जितका लागि खेल्ने बताए। ‘फाइनल पुगेका छौं, जितका लागि खेल्नेछौ,’ प्रशिक्षक तामाङले भने।
मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए।
‘नकआउट प्रतियोगितामा सबै खेल फाइनल नै हो, कुनै पनि खेलमा पराजित भए बाहिरिन्छौं। हामी मुख्य फाइनलमा आएका छौं र फाइनल खेल्न तयार छौं,’ अन्जनले भने। अन्जनले फाइनल खेलका लागि कुनै पनि दवाव नरहेको समेत बताए ।
सेमिफाइनलमा मनाङले हिमलायन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ ले पराजित गरेको थियो ।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले मनाङ राम्रो टिम रहे पनि जितका लागि खेल्ने बताए। ‘मनाङ राम्रो टिम हो, उसले ए डिभिजन लिगमा पनि राम्रो गरेको छ। तर पनि हामी जितका लागि खेल्छौं,’ मिश्रले बताए।
फ्रेन्ड्स बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
फाइनल प्रतियोगिता शनिबार धनगढीस्थित रंगशालामा दिउसो ३ बजेदेखि आयोजना हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।