काठमाडौं– फ्रेन्स क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासेर अल–खेलाफी र खेलकुद निर्देशक लियोनार्डोमाथि युरोपेली फुटबलको नियामक निकाय यूईएफएले अनुसन्धान सुरु गरेको छ। बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस क्लब रियल मड्रिडविरुद्ध हार बेहोरेपछि रेफ्रीसँग विवाद गरेको भन्दै उनीहरूमाथि छानबिन गर्न लागिएको हो।
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सान्टीआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु टोली मड्रिडले पीएसजीलाई ३-१ गोलअन्तरले हराएको थियो।
मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पूरा गरे। पहिलो लेगको खेल पीएसजीले १-० ले जितेको हुँदा रियलले समग्रमा ३-२ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। उक्त खेलपछि अध्यक्ष खेलाफी र खेलकुद निर्देशक लियोनार्डो डच रेफ्री ड्यानी म्याकिलेसँग विवाद गर्न पुगेको आरोप छ।
यूईएफएले यसबारे अनुसन्धान सुरु गरेको बताएको छ। रेफ्री म्याकिलेले आफ्नो रिपोर्टमा खेलाफी र लियोनार्डोले ड्रेसिङरुमको ढोका छेकेर विवाद गरेको उल्लेख गरेका छन्। यूईएफएले यसलाई ‘खेलाडी र अधिकारीको गलत व्यवहार’ अन्तर्गत कारबाही अघि बढाएको जनाएको छ।
खेलपछि पीएसजीका म्यानेजर माउरिसियो पोचेटिन्होले पनि मड्रिडको पहिलो गोलप्रति असन्तुष्ट थिए। उनले अपिलसमेग गरेका थिए। मड्रिडका बेन्जेमाले पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माको खुट्टाबाट बल खोस्दै गोल गरेका थिए। सो फल भएको पोचेटिन्होको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।