काठमाडौं- बेलायत सरकारले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको सम्पूर्ण सम्पति रोक्का गरेको छ। चेल्सी फुटबल क्लबका मालिक तथा रुसी अर्वपति रोमन अब्रामोभिचमाथि यात्रा प्रतिबन्धसँगै उनको सम्पति रोक्का गरिएको हो।
सम्पतिमा रोक्का गरेसँगै अब्रामोभिचले चेल्सी क्लब बेच्न नपाउने भएका छन्। पछिल्लो हप्ता अब्रामोभिचले क्लब बेच्ने चाहना सार्वजनिक गरेका थिए।
उनले क्लब बिक्रीमार्फत् हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने बताएका थिए। बीबीसी स्पोर्ट्सका अनुसार चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेका छन्। उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेको बताइन्छ।
अब्रामोभिचको घोषणापछि क्लबको स्वामित्वका लागि अन्य व्यक्तिले चासो देखाएका थिए। बेलायती व्यापारी निक क्यान्डीले पनि चेल्सी क्लब किन्ने तयारी गरेका थिए।
उनले प्रिमियर लिग क्लबमाथि बोली लगाउन लगानीकर्तासँग छलफल गरिरहेका थिए। चेल्सी क्लब किन्नका लागि मार्च १५ सम्म दरखास्त पेस गर्नुपर्ने मिति रहेको छ। तर, बेलायत सरकारले प्रतिबन्ध लगाएसँगै चेल्सीको भविष्य अनिश्चित देखिएको छ।
५५ वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ। तर, उनले उक्त कुरा अस्वीकार गर्दै आएका छन्।
यता, बेलायत सरकारले पनि रुसी राष्ट्रपति पुटिनसँग नजिकको सम्बन्ध भएका कारण अब्रामोभिचको सम्पति रोक्का गरेको बताएको छ।
विगत १४ दिनदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरिरहेको छ। तेस्रो चरणसम्मको वार्ता भएपनि कुनै निकास निस्किन सकेको छैन। त्यसैले रुसी सरकारलाई दबाब दिन विश्वभरका खेलकुद निकायले रुसलाई खेल क्षेत्रबाट अलग्याउने रणनीति अवलम्बन गरेका छन्।
‘अब्रामोभिच युक्रेनमाथि सैन्य कारबाहीको आदेश दिने व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका छन्,’आर्थिक प्रतिबन्ध लगाएपछि जारी विज्ञप्तीमा उल्लेख छ,‘ उनको संघले पुटिन र रुसबाट सहयोग पाइरहको छ।’
यता, बेलायत सरकारले चेल्सीले अब खेलका टिकटसमेत बेच्न नपाउने जनाएको छ। यसको मुख्य उदेश्य भनेको अब्रामोभिचले चेल्सीबाट थप आम्दानी गर्न नपाओस भन्ने रहेको बताइन्छ। तर, चेल्सीले तालिका अनुसारको खेल खेल्न पाउने छ।
अब्रामोभिचले सन् २००४ मा चेल्सी क्लब किनेका थिए। उनी इन्भेस्टर भिसामा बेलायत बस्दै आएका थिए। तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ। उनको भिसा अवधि पनि सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।