काठमाडौं– फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिड पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ तथा समग्रमा ३–२ ले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो।
एक गोलले पछि परेको अवस्थामा बेन्जेमाको ह्याट्रिकमा रियलले पुनरागमन जित निकालेको हो। जितसँगै रियलले क्वाटरफाइनलमा स्थान पक्का गर्दा पिएसजी भने राउन्ड अफ १६ बाट बाहिरिएको छ।
सान्टियागो बर्नबेउमा बुधबार राति सम्पन्न खेलमा बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै रियललाई सानदार जित दिलाए।
खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। उनले नेयमारको पासमा गोल गरेका थिए।
एक गोलले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। खेलको ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। भिनिसियस जुनियरले दिएको पासमा बेन्जेमाले गोल गरेका थिए।
खेलको ७६औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को पुनरागमन जित दिलाए।
बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बने। उनले ३४ वर्ष ८० दिनको उमेरमा ह्याट्रिक प्रहार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।