काठमाडौं- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले चैत १० गते थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा चैत १३ गते थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय छ। दुवै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो।
तर, सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा आबद्द राष्ट्रिय टोलीका खेलाडीले थाइल्यान्ड भ्रमण गुमाउने भएका छन्।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन्।
तर, अघिल्लो महिना मरिसससँगको मैत्रीपूर्ण खेलमा टोलीमा रहेका गोलरक्षक विशाल श्रेष्ठ भने यसपल्ट समेटिएका छैनन्। यस्तै, मिडफिल्डर विशाल राई तथा फरवार्डहरू विमल घर्तीमगर र सुनिल बललाई पनि यसपल्ट समेटिएको छैन। विशाल हालै सम्पन्न ‘ए’ डिभिजन लिगका उत्कृष्ट गोलरक्षक हुन् भने सुनिल सर्वोत्कृष्ट खेलाडी हुन्।
यसका साथै विशाल राई ‘बी’ र रक्षक देवेन्द्र तामाङ पनि प्रारम्भिक टोली बाहिर छन्। एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले मछिन्द्रले एएफसी कप खेल्ने तालिका रहेका कारण क्लबका खेलाडीलाई ‘कल’ नगरिएको बताए।
‘यो मैत्रीपूर्ण खेल हो। मछिन्द्र अन्य प्रतियोगिताको तयारी लागेको भएर खेलाडीलाई राष्ट्रिय टोलीमा नबोलाइएको हो,’ उपाध्यायले नेपाल लाइभसँग भने।
मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ। एन्फाले लिगको सातौं चरणको खेलसम्म शीर्षस्थानमा रहने एएफसी लाइसेन्स पाएको एक टोलीले छनोट खेल्न पाउने नियम बनाइएको थियो।
सोही आधारमा मच्छिन्द्र शीर्षस्थानमा रहँदै एएफसी कपको छनोट खेल्न लागेको हो। मछिन्द्रले चैत २२ मा एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार दशरथ रंगशालामा खेल्दैछ।
मछिन्द्रले श्रीलंकन टोलीलाई पराजित गरे अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्ने छ। यो खेल कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा हुनेछ।
समूह चरणमा स्थान बनाउन मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ। यता, एन्फाका महासचिव इन्द्रमान तुलाधरले पनि एएफसी कपको तयारीमा रहेको कारण मछिन्द्रसँग छलफल गरेर खेलाडी नराखिएको बताए।
‘राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल खेल्ने समय मछिन्द्रका खेलाडी एएफसी कपको तयारीमा हुनेछन्। त्यसैले हामीले मछिन्द्रसँग छलफल गरेपछि खेलाडीलाई नबोलाएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।